लेखनाथ, २८ भाद्र ।
महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि नेपाल सरकारले अगाडी सारेको सहुलियत दरको ऋण प्रवाहका सवालमा लेखनाथ उद्योग बाणिज्य संघ र गरिमा विकास बैक लि.का विच सम्झौता भएको छ ।
स्वदेशमा नै लगानी मैत्री वातावरण सृजना गर्ने उद्देश्यले सरकारले अगाडी सारेको सहुलियत दरको ऋण प्रवाह योजना अन्तरगत हातमा सिप हुने तर आर्थिक अभावका कारण ब्यवसायीक क्षेत्रमा आउन नसकेका महिलाहरुलाई लक्ष्यित गरि अगाडी सारिएको योजनमा दुई सस्था विच सहकार्य गर्ने गरि आईतबार सम्झौता भएको हो ।
सम्झौता पत्रमा लेखनाथ उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष बलराम ढकाल, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र पुर्व अध्यक्ष सुमन भट्टराईले हस्ताक्षर गरेका छन् भने गरिमा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, कलस्टर प्रमुख भोल प्रसाद तिवारी र बरिष्ठ अधिकृत मेघ बहादुर केसीले हस्ताक्षर गर्नु भएको छ ।
योजना अन्तरगत आय मुलक ब्यवसाय तथा साना तथा मझौला घरेलु उद्योग संचालन गर्ने योजना सहित आउने महिलाहरुलाई लेखनाथ उद्योग बाणिज्य संघको सिफारिसमा गरिमा विकास बैकबाट उद्योगको प्रकृति हेरि बिना धितो बढिमा रु १५ लाख सम्म ऋण पाउने ब्यवस्था गरिएको छ ।
महिलाहरुको उद्येमशिलतामा सहयोग पुग्ने गरि लघुवित्त कृषि कर्जा,पशुपालन लगायत महिलाहरुको आय आर्जनमा बृद्धि हुने खालका ब्यवसायमा सहुलियत दरमा ऋण प्रवाह गरि महिलालाई ब्यवासायीक बनाउने उद्देश्यले योजनालाई अगाडी सारिएको हो ।
लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी परिचालन उपसमितिकी संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले महिलाहरुलाई पनि ब्यवासायी बनाउने उद्देश्यका साथ अगाडी सारिएको योजनाको भरपुर उपयोग गरि स्वदेशमा नै रोजगार सृजना गर्नु पर्ने सुझाव सहित योजनाको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा गरिमा बिकास वैकाका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले महिलाहरुमा उद्यमशिलताको विकास गराउन सहुलियत पुर्ण कर्जा बरदान सावित हुने बताउनु भएको थियो भने बैकका कलस्टर प्रमुख भोल प्रसाद तिवारी र बरिष्ठ अधिकृत मेघ बहादुर केसीले बैकका गतिविधी र सहुलियत दरको कर्जाका बारेमा जानकारी गराउनु भएको थियो ।
संघका महासचिव गपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष जानुका अधिकारीले धन्यवाद सहित महिला उद्येमीह्ररुलाई नेपाल सरकारले दिएको सहुलित दरको ऋण योजनामा लगानीको अभावमा पछाडी परेका महिला समुदायले अधिकतम फाईदा लिन सक्ने सुझाव राख्नु भएको थियो ।