स्टार्टअप गर्न पैसा होइन, आइडिया र विश्वासमा दम चाहिन्छ ः विनोद चौधरी
लेखनाथ , ११ असार ।
अन्तराष्ट्रिय सफल उद्योगी, उद्योग परिसङ्घ नेपाल (सीएनआई) का पूर्व अध्यक्ष विनोद चौधरीले पैसा भएकाले नभएर विचारमा दम भएका युवाहरूले सुरु गर्ने स्टार्टअप व्यवसाय भएको बताउनु भएको छ ।
शनिबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको व्यवसायीक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनु भएको हो । “उद्यमशीलताको कुनै भुगोल वा सीमाना हुँदैन । विचार नयाँ वा आकर्षक भएपछि जो पनि उद्यमी हुन सक्छ,” उहांले भन्न् भयोे, “डिजिटल प्रविधिले माग र आपूर्तिलाई जोड्ने काम गरेको छ । मैले देखेका सपना पुरा नगरी म विश्राम लिन्न भन्ने संकल्प हुनुपर्छ ।”
हरेक उद्यमीको सुरुवात स्टार्टअपबाट हुने गरेको भन्दै उहांले स्टार्टअपलाई हरेक वित्तीय संस्थाले बिना धितो १० लाख रुपैयाँ ऋण दिनुपर्ने नीति रहेको औँल्याउनु भयो ।“सबै प्रदेशले स्टार्टअपका लागि बजेट विनियोजन पनि गरेका छन्,” उहांले अगाडि भन्नुभयो, “विश्वमा स्टार्टअप पैसा भएकाले खोलेका छैनन्, उनीहरू आफ्नो विश्वासको दममा खुलेका हुन्, आफ्नो विचारमा दम भएर खुलेका छन् ।”
स्टार्टअपलाई पुँजीले रोक्न नसक्ने भन्दै चौधरीले व्यवसायिक सोच राम्रो भएको खण्डमा लगानी गर्ने एकसे एक भेटिने बताउनु भयो । नबिल बैंकले समाज सेवाका लागि सातै प्रदेशमा स्कुल खोलेको र त्यहाँबाट उद्यमशीलताको यात्रामा विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य लिइएको जानकारी समेत उहांले गराउनु भयो ।
“सरकारका विभिन्न निकायमा सातवटा भन्दा बढी फण्डिङ योजना पेन्डिङमा छन्, जसलाई कसरी वा केमा लगानी गर्ने कुरा निश्चित छैन । स्टार्टअप आइडिया भएकाहरू हरेक कुराबाट प्रेरित हुन सक्छन् । पुँजी छैन केही छैन भन्ने होइन । विचार छ त सबथोक छ भन्ने ठान्नुपर्छ,’ उहांले भन्नुभयो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले स्टार्टअपलाई प्रोत्साहन गर्नैकै लागि आफूहरूले यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । “यसबाट नवीनतम सोच लिनुका साथै, उनीहरूको विकासमा सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौँ,” उहांले भन्नुभयो, “उद्यमशीलता र युवा व्यवसायीको विकास होस् भन्ने हाम्रो चाहना हो ।” स्टार्टअपलाई लिएर सरकारले नीति बनाए पनि त्यसको कार्यान्वयन हुन नसकेको उहांको भनाई थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव उपेन्द्रराज सुवेदीले गर्नु भएको थियो ।