सामाजिक सुरक्षा कोष सम्वन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
भाद्र २९, लेखनाथ
यस क्षेत्रमा रहेका उत्पादन मुलक उद्योग, पर्यटन उद्योग, स्वास्थ्य तथा शैक्षिक संघ संस्थासँग आवद्ध संंचालक तथा व्यवस्थापकहरुका लागि बुधवार लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा सामाजिक सुरक्षा कोष सम्वन्धी अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
सामाजिक सुरक्षा कोषका उपनिर्देशक एवं सह प्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोषका निती, नियम तथा प्रावधान र यसको महत्वका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै सहभागीहरुले राखेका विभिन्न जिज्ञासा माथि प्रस्ट पार्नुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं व्यवसायिक ज्ञान तथा सिप विकास उपसमितिका संयोजक विक्रम कर्माचार्यको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा यस क्षेत्रका उद्योग प्रतिष्ठान, शैक्षिक संस्थान, सहकारी तथा संघ संस्थामा आवद्ध प्रमुख तथा संचालकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बावुराम गिरीले रोजगार दाता र श्रमिक विच रहेको सम्वन्ध विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन नेपाल सरकारसँग मिलेर कार्य गर्न तथा विद्यमान श्रम ऐन, सामाजिक सुरक्षा ऐन नियमावलीमा भएका व्यवस्था बमोजिमका सुविधाका बारे जानकारी भएको बताउनुभएको थियो ।
त्यसैगरि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले हामी विच रहेका विभिन्न दुविधा विचमा सामाजिक सुरक्षाको बारेमा जानकारी प्राप्त भएको र सामाजिक सुरक्षा कोषलाई त्रिपक्षीय श्रमिक, रोजगारदाता र सरकार पक्षबाट व्यवस्थापन गर्दै लैजानुपर्ने धारणा राख्नुभएको थियो । संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले संचालन गर्नुभएको उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष सुमन भट्टराई, लक्ष्मीप्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी लगायतको उपस्थिति रहेको थियो ।