१८ औं लेखनाथ महोत्सव पोखरा महानगरपालिकाको तालचोक डाडा नाकमा जारी छन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा दर्शकको उपस्थिति निकै आकर्षक रहेको छ ।
पहिलो दिन हिजो ३० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने करिब ८० लाख बराबरको कारोबार भएको महोत्सव प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए । त्यस्तै, महोत्सवको दोस्रो दिन आज १० हजार दर्शकले अवलोकन गरेका छन् भने ४० लाख बराबरको कारोबार भएको छ ।
कुल ३३७ स्टलहरु रहेको महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको संयोजक ओझाले बताए । आज दोस्रो दिन दर्शकको उपस्थिति कम भएपनि कारोबार राम्रो भएको उनले बताए । भोलि भने शनिबारको बिदा परेकाले पनि महोत्सवमा दर्शकको राम्रो उपस्थिति रहने अपेक्षा गरिएको छ । भोलि महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायक पशुपति शर्मा, जीवन दाहाल, रेशम निर्दोषी, पर्शराम अधिकारी, गायिकहरु सुमन थापा, तुलसा जिसी, रमा रानाको प्रस्तुति रहने भएको छ ।
त्यस्तै हाँस्यव्यंग्यतर्फ युवराज भण्डारी, राजेन्द्र नेपालीको आर्कषक प्रस्तुति रहने भएको छ । भोलि हुने साँझको लाइभ कन्सर्टतर्फ हिमाल सागर, आशिस सचिनको दमदार प्रस्तुति रहने संयोजक ओझाले जानकारी दिएका छन् । युवाहरुका लागि राखिएको लाइभ कन्सर्ट कार्यक्रम प्रत्येक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म संचालन हुनेछ । यस बाहेक महोत्सवमा अन्य विद्यालय स्तरिय कार्यक्रमहरु, जातजाति, भाषाभाषीका कार्यक्रमहरु, भजनकृतिन पनि समावेश छन् ।
साँस्कृतिक कार्यक्रमतर्फ आज लोकदोहोरीमा गायक रामजी खाण, मधु रसाईलीलगायतको प्रस्तुति रहेको थियो भने साँझको लाइभ कन्सर्टतर्फ सनिमा श्रेष्ठ, सन्तोष बस्याल र टुकीको प्रस्तुति रहेको छ । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने महोत्सवको प्रमुख उद्देश्यले हो ।
महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । जसमा यहाँका पर्यटकीय स्थलको पहिचान गराउने छुट्टै खालको बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् ।
त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रमोशनका लागि विभिन्न प्रतिष्ठानका पनि स्टल रहेका छन् । सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् ।
निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ । ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस कुराहरु महोत्सवमा राखिएको हुँदा ढुक्क भएर आएर महोत्सवको एकपटक अवलोकन गरिदिन संयोजक ओझाले सम्पूर्णमा आग्रह गरेका छन् ।