लेखनाथ, १२ पुस ।
लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा हालसम्म करिब ५ करोडकोे कारोवार भएको छ । महोत्सवको छैटौं दिनसम्म आईपुग्दा ४ करोड ९५ लाखको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन ।
यस्तै महोत्सवको हालसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन । मंगलबार मात्रै १५ हजार दर्शकले अवलोकन गरेका छन भने ८० लाखको कारोबार भएको आयोजकले जनाएको छ ।
महोत्सवमा मनोरञ्जनका लागि दैनिक जसो रत्यौली कार्यक्रमदेखि लिएर विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरु भइरहेका छन् ।
मंगलबार भएको लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु राजु परियार, अमर धिताल, माधव चापागाई, गायिकाहरु कला लम्साल, सरस्वती लामिछाने र कमला सुनार लगायतको प्रस्तुती रहेको थियो भने हाँस्यव्यग्य तर्फ दिपक थापाको प्रहसनले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । त्यस्तै बेलुका लाइभ कन्सर्टतर्फ तृष्णा गुरुङ, याम नेपाली, सुचिल र एन एमले स्टेज तताएका थिए ।
बुधबार महोत्सवमा लोकदोहोरी कार्यक्रम तर्फ गायकहरु सुमन परियार, घनश्याम रिजाल, बालकृष्ण वाग्ले, नेत्र खडका, गायिकाहरु अस्मिता डल्लाकोटी, ईन्द्रा गुरुङ, सरिता सारु मगर लगायतको आर्कषक प्रस्तुति रहने भएको छ भने लाइभ कन्सर्टतर्फ उर्गेन दोङ, एलविन थापा र सुसन बागदासको बेजोड प्रस्तुती रहनेछ ।
निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको महोत्सवको मंगलबार लक्ष्मी ग्रुपका उद्योगपति गणेश बहादुर श्रेष्ठ र शुक्लागण्डकी उद्योग वाणिज्य संघको टिमले समेत अवलोकन गरेका थिए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा कुल ३३७ स्टलहरु रहेका छन् । ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको छ, जुन दर्शकको आकर्षणको केन्द्र बनेको छ ।
यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका छन् । त्यस्तै महोत्सवमा विद्यार्थीका लागि इन्जिनियरिङ सम्बन्धी प्रदर्शनी पनि रहेको छ । आफ्नो सेवा तथा वस्तु प्रर्वद्धनका लागि पनि विभिन्न प्रतिष्ठानहरुले स्टल राखेका छन् ।
ग्रामिण क्षेत्रमा लोप हुँदै गरेका अधिकांस वस्तुहरु महोत्सवमा राखिएका छन् । जसका कारण दर्शकहरुको आकर्षण बढ्दै गएको संयोजक ओझाले वताएका छन् ।
सगरमाथा इन्स्योरेन्स मुख्य प्रायोजक रहेको महोत्सवमा सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, कामना सेवा विकास बैंकलगायत महोत्सव सफल बनाउन विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।