बिहिबारदेखि सुरु हुने १६ औं संस्करणको लेखनाथ महोत्सवको सम्पूर्ण तयारी सकिएको छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको सबै तयारी सकिएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघले मंगलबार महोत्सव स्थल डाँडाकोनाकमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारका साथ हरेक वर्ष आयोजना हँदै आएको यो महोत्सवलाई दर्शकको उल्लेख्य सहभागिताले महोत्सवको पनि महोत्सव भनिन्छ । सुरुआतकै अवस्थाबाट दर्शकको राम्रै साथ पाउँदै आएको महोत्सवलाई यस वर्ष पनि दर्शकको उस्तै सहभागिता रहने आयोजकको दाबी छ । दुई वर्ष अघि महोत्सव गर्न सार्वजनिक जमिन नहुँदा आयोजकले जग्गा भाडामा लिएर महोत्सव संचालन गर्दै आएको छ । प्रतिवर्ष ७ लाख ८२ हजार रुपैयाँ भाडा बुझाउने सम्झौता गरेर १० वर्षका लागि ६० रोपनी जग्गा भाडामा लिएको थियो। महोत्सव हुने समयबाहेक अन्य समयमा सो जमिन प्रयोग हुन् सकिरहेको छैन । औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादनको प्रवद्र्धन, साँस्कृतिक कार्यक्रम, बाल उद्यानलगायत महोत्सवका आर्कषण रहेका छन् । यसबाहेक हरेक वर्ष आयोजना गरिँदै आएको गण्डकी तारा पनि आर्कषणको रुपमा रहेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक बलराम ढकालका अनुसार महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, मेसिनरी, डेरी, खानालगायतको प्रदर्शनी पनि हुनेछ । महोत्सवमा ३ सय ४० वटा स्टल रहनेछन् । महोत्सव प्रचार प्रसार उपसमिति संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले दुई लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको बताए । १३ दिने महोत्सवमा एक करोड आम्दानी र एक करोड १० लाख खर्च हुने समितिले जनाएको छ । महोत्सवबाट २० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । बचत हुने रकम प्रदर्शनी स्थलको स्तरोन्नती, शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा खर्च गरिने संयोजक सुवेदीले जानकारी दिए । महोत्सव प्रवेशका लागि साधरण टिकट दर रु ६० र विद्यार्थीका लागि रु ४० तोकिएको छ । यस्तै साँझ हुने कन्सर्ट अवलोकन गर्न रु एक सय र स्थायी प्रवेश पासका लागि रु दुई सय ५० लाग्नेछ । आयोजकले वृद्धवृृद्धा, शारीरिक अशक्तता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता कार्डको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।