!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

आजबाट लेखनाथ महोत्सव, सम्पूर्ण तयारी पुरा

LCCI News: Posted at 12/19/2019
...

पोखराको लेखनाथमा बिहीबारदेखि लेखनाथ महोत्सव हुँदैछ । महोत्सवको पनि महोत्सव पहिचान बनेको लेखनाथ महोत्सव लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ गते सुरु भई १५ गतेसम्म चल्नेछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ उद्घोषका साथ हुने महोत्सव औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन, सोको पहिचान गराउने आयोजकको विश्वास छ । स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको संघले जनाएको छ । आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजहरुको जगेर्ना गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको प्रमुख उद्देश्य रहेको संघका अध्यक्ष ढकालले बताए । महोत्सवले समग्र गण्डकी प्रदेशकै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पुग्ने उनले बताए । महोत्सवमा कुल ३४० वटा स्टलहरु रहनेछन् । त्यसमध्ये अटोका ७, शैक्षिक प्रदर्शनीका ९, कृषिका ३५, किचनका ्२७, मेसिनरीका २०, ह्याण्डिक्राफ्टका १२, गार्मेन्टका १००, जनरलका २६, फुड एण्ड वेभरेजका २०, डेरीका ६, सूचना तथा प्रविधीका ३२, रेष्टुरेण्टका १६, बैंक तथा वित्तीय संस्थाका ३० वटा स्टलहरु रहने जनाइएको छ । महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरु पनि महोत्सवमा राखिने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुबेदी (राजु)ले जानकारी दिए । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधीहरु पनि प्रदर्शनी गरिनेछ । फुड फेष्टिवल, अटोमोबाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि राखिने सुबेदीले बताए ।महोत्सवको आकर्षणको रुपमा माछा, मह र कफी हुने भएको छ । लेखनाथ क्षेत्रका ताल तथा पोखरीमा उत्पादन भएका माछाहरु बिक्रीका लागि राखिने जनाइएको छ । बेगनासताल, रुपातालसहित त्यस आसपासका पोखरीमा उत्पादित माछा बेच्नका लागि राखिने प्रचार संयोजक सुबेदीले जानकारी दिए । लेखनाथ तथा आसपासका क्षेत्रमा उत्पादन भएका कफीका साथै महसमेत बिक्रीका लागि राखिने उनले बताए । महोत्सवमा बाल उद्यानसमेत आकर्षणका रुपमा रहने आयोजकको दाबी छ । साना साना बालबालिकादेखि युवायुवती र बृद्धबृद्धासम्म भुल्ने र झुल्नेगरी बाल उद्यान तयार गरिएको सुबेदीले बताए । महोत्सवको अवसरमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्ट हुने भएको छ । लोकदोहोरीमा प्रजापति पराजुली, पशुपति शर्मा, पुरुषोत्तम न्यौपानेदेखि कृष्ण देवकोटासम्मले प्रस्तुति राख्नेछन् भने चर्चित व्याण्डहरुले साँझमा स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा आयोजना हुँदै आएको गण्डकी तारा र रत्यौली प्रतियोगिताका यसअघीका बिजेताहरुको प्रस्तुती दैनिक रुपमा रहने महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवको अवसरमा आयोजकले यसपटक खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसर पारेर कविता प्रतियोगिता आयोजना गरिएको महोत्सव संयोजक तथा संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । महोत्सवमा प्रवेशका लागि दिउँसो ६० रुपैयाँ टिकटदर कायम गरिएको आयोजकले जनाएको छ । विद्यार्थीलाई भने छुटमा ४० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष ढकालले बताए । त्यस्तै साँझको कन्सर्टका लागि १०० रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए । बृद्धबृद्धा, अपाङ्गता भएका र एकल महिलालाई भने निःशुल्क प्रवेशको ब्यबस्था गरिएको उनले बताए । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । महोत्सवमा करिब १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए । महोत्सवबाट १ करोड ३० लाख आम्दानी हुने र १ करोड १० खर्च भई २० लाख बचत हुने अनुमान गरिएको उनले बताए । बचत रकम प्रदर्शनी स्थलको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा खर्च गरिने उनले जानकारी दिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: